News लेखनाथ रंगशाला पोखरामा सम्पन्न २६औँ आदर्श कपको उपाधि होराइजन क्लब वालिङ स्याङ्जालाई
गोलनेपाल

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर - २९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा फर्स्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजनमा आदर्श युथ क्लबले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनल सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा गण्डकी प्रदेश प्रहरीलाई सडन डेथमा ( 6-5 ) को नतिजामा पराजित गर्दै होराइजन क्लब वालिङ स्याङ्जाले पहिलो पटक उपाधि चुमेको हो। निर्धारित समय एक एक गोलको बराबरीमा टुंगिएको उक्त खेल होराइजन क्लब वालिङ स्याङ्जाका लागि खेलको ६२ औं मिनेटमा बसन्त बहादुर रानाले गोल गर्दै अग्रता दिलाएका थिए। स्याङ्जा निर्धारित समयको अन्तिम समयमा सम्हालिन नसक्दा रोजल दाहालले निकै सुन्दर गोल गर्दै गण्डकी प्रदेश प्रहरीलाई ९२ औं मिनेटमा खेलमा फर्काउन सफल भएका थिए।

रोजलको गोल सँगै बराबरी अवस्थामा आएको उक्त खेल पेनाल्टी सुटआउट हुँदै सडन डेथसम्म पुगेको हो। पेनाल्टी सुटआउटमा विभागीय टोलीको तर्फबाट केशर बरामको प्रहारलाई स्याङ्जाका गोल रक्षक टोप बहादुर रानाले जोगाउन सफल भएका थिए। त्यस्तै स्याङ्जाका कप्तान विश्वास श्रेष्ठको प्रहारलाई विभागीय टोलीका गोल रक्षक जीवनसिंह ठकुरीले रोक्दै आफ्नो टोलीलाई खेलमा फर्काएका हुन।

दुवै टोलीबाट कुल ५/५ प्रहार हुँदा चार चारको नतिजामा खेल सडन डेथतर्फ धकेलिएको थियो। सडन डेथमा दुई दुई प्रहार हुँदा स्याङ्जाले दुवै प्रहारलाई गोल गर्न सफल भएको थियो। उता गण्डकी प्रदेश प्रहरीका लागि दोस्रो प्रहार बिनोद तामाङले बाहिर प्रहार गर्दा विभागीय टोली गण्डकी प्रदेश प्रहरीले उपविजेतामा चित्त बुझाउनु परेको हो।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक होराइजन क्लब वालिङ स्याङ्जाका टोप बहादुर राना, उत्कृष्ट डिफेन्डर स्याङ्जाकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिटफिल्डर गण्डकी प्रदेश प्रहरीका सुशील लामा, उत्कृष्ट कोच होराइजन क्लब स्याङ्जाका सुन्दर श्रेष्ठ बन्न सफल भएका हुन्। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरूले जनही नगद रु. १५,००० प्राप्त गरेका छन्। उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने विभागीय टोली गण्डकी प्रदेश प्रहरीका मिडफिल्डर युवा खेलाडी रोजल दाहाल बनेका हुन् उनले नगद रु. २५ हजार सहित ट्रफी प्राप्त गरेका छन।

Post Comments