सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा आयोजक जेनिथ युथ क्लब र लुम्बिनी एफसी, सुनवल–१, नवलपरासीबीच प्रतिस्पर्धा भएको थियो। एकतर्फी खेल प्रदर्शन गर्दै जेनिथ युथ क्लबले ८–० को शानदार जित हासिल गरेको छ।
जेनिथको जितमा निखिल पुनले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने हिमाल घर्ती मगरले तीन गोलको योगदान दिए। बाँकी एक गोल लुम्बिनी एफसीबाट भएको आत्मघाती गोलका कारण थपिएको हो। खेलभर आक्रामक र प्रभावशाली खेल प्रस्तुत गरेका निखिल पुन खेलको उत्कृष्ट खेलाडी घोषित भए।
यस प्रतियोगिताका विजेताले रु. १ लाख २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. ६० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
