News सिरिजंघा र फक्ताङलुङ गाउँपालिका प्रथम शहिद कपको सेमिफाइनलमा
गोलनेपाल

मिक्वाखोला । सिरिजंघा गाउँपालिका, तेल्लोक र फक्ताङलुङ गाउँपालिका, तापेथोक ताप्लेजुङमा जारी प्रथम शहिद कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको क्वाटरफाइनलतर्फ सिरिजंघाले मैवाखोला गाउँपालिका, साधुलाई ५–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । सिरिजंघाको जितमा सुमन गुरुङले ह्याट्रिक गर्दा बिबेक मादेन लिम्बुले दुई गोल आफ्नो नाममा लेखाए । खेलमा ह्याट्रिक गरेका सिरिजंघाका सुमन गुरुङ म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा फक्ताङलुङले मेरिङदेन गाउँपालिका, सान्थाक्रालाई ६–३ को अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । फक्ताङलुङको जितमा जमिन लिम्बुले ह्याट्रिक गरे भने दिपेश लिम्बु, नबिन लिम्बु र एमएस लिम्बुले समान एक–एक गोल गरे । उता पराजित मेरिङदेनका लागि भने इक्सा लिम्बु, सन्जुहाङ लिम्बु र औतम लिम्बुले गोल गरे । खेलमा फक्ताङलुङका ह्याट्रिककर्ता जमिन लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ २० गते मंगलबार दुई सेमिफाइनल खेलहरु हुनेछन् । जसमा मिक्वाखोला गाउँपालिकाले सिरिजंघा गाउँपालिकाको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा फक्ताङलुङ गाउँपालिकाले सिदिङवा गाउँपालिकासँग खेल्नेछ ।

योङ कम्युनिस्ट लिग, नेपाल ९वाइसिएल०, मिक्वाखोला गाउँपालिका कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ । फाइनल खेल भने यही माघ २१ गतेका दिन हुनेछ ।

 

Post Comments