News तेस्रो पौवादुङमा गोल्डकपः छथर र टेम्के मैयुङ सेमिफाइनलमा
गोलनेपाल

पौवादुङमा । छथर गाउँपालिका, तेह्रथुम र टेम्के मैयुङ गाउँपालिका, भोजपुर यहाँ जारी तेस्रो पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको दिनको पहिलो खेल र दोस्रो क्वाटरफाइनलतर्फ छथर गाउँपालिकाले तालतलैया फुटबल क्लब, इटहरीलाई ५–० को अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । छथरको जितमा सौर्य राउतले ह्याट्रिक गरे भने उमेश कार्की र मिलन लिम्बुले समान एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका छथरका सौर्य राउत म्यान अफ दि म्याच बने ।

त्यस्तै दिनको दोस्रो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ टेम्के मैयुङ गाउँपालिकाले बुढासुब्बा क्लब, धनकुटालाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो । टेम्के मैयुङका लागि रामसुर राईले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि टेम्के मैयुङका निर्णायक गोलकर्ता रामसुर राई नै चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २० गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङ र सिंहदेवी फुटबल क्लब, भाम्राङबीच हुने आयोजकले जानकारी दियो ।

तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा माघी मेला आयोजक समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २३ गतेका दिन हुनेछ ।

 

Post Comments