केराबारी । केराबारी–८, मोरङस्थित मच्छिन्द्र रंगशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप २०८२ अन्तर्गत आज पहिलो चरणको दोस्रो दिनको खेलमा डाँडाबजार फुटबल क्लब, धनकुटाले युनाइटेड के. एफसी, भारतलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले संगठित डिफेन्स र तीव्र मिडफिल्ड संघर्ष प्रस्तुत गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा पनि निर्धारित समयसम्म दुबै टोलीबाट स्कोर ननिस्किएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको निर्णायक क्षणमा सुनिल खड्काले सशक्त प्रहारमार्फत एकमात्र गोल गर्दै डाँडाबजारलाई ऐतिहासिक जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका सुनिल खड्का ‘म्यान अफ द म्याच’ घोषित भए।
यसअघि उद्घाटन खेलमा झापा–११, बिर्तामोडले साविक विजेता पानबारी फुटबल क्लब, धरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै शानदार कमब्याक जित दर्ता गरेको थियो। प्रतियोगितामा स्वदेश तथा विदेशका गरी ८ टोलीको सहभागिता रहेको छ।