News झापालाई हराउँदै चर्च ब्वाईज बुढासुब्बा गोल्डकपको फाइनलमा, उपाधिका लागि प्लानिङ ब्वाईजसँग भिड्ने
गोलनेपाल

धरान । चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुर, सुनसरीमा जारी २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाईजले झापा ११ फुटबल क्लब, झापालाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनल यात्रा तय गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ चर्च ब्वाईजका लागि मिलन राई र अबायोमीले गोल गरेका थिए भने झापाका लागि एरोन थापाले एक गोल गर्दा अर्को एक गोल अभिषेक लामाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । त्यसो त चर्च ब्वाईजले निर्धारित समय मै खेल जित्ने अवसर पनि थियो । पहिलो हाफ मै पाएको पेनाल्टीको अवसरमा चर्च ब्वाईजका रिचार्ड विलसनको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बुले जोगाएका थिए ।

यद्यपि पेनाल्टी शुटआउटमा भने चर्च ब्वाईजले झापालाई ३–१ ले निराश बनायो । खेलमा चर्च ब्वाईजका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ दि म्याच चुनिए । गच्छदारले पेनाल्टी शुटआउटमा विपक्षीको तीन प्रहार जोगाएका थिए ।

चर्च ब्वाईजले अब फागुन २ गते शनिबार हुने फाइनलमा प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments