गौरादह । स्पर्श सामाजिक क्लब, गौरादह–झापाको आयोजनामा “प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ। प्रतियोगिताको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आयोजकले प्रतियोगिताका पुरस्कार, खेलस्थल तथा उद्देश्यबारे जानकारी दिएको हो।
आयोजकका अनुसार प्रतियोगिता २०८३ साल भदौ १९ गते (शुक्रबार) देखि गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदान मा सञ्चालन हुनेछ। प्रतियोगिताले महिला फुटबलको विकास, महिला खेलाडीको सम्मान तथा खेलकुदमार्फत लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्य लिएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद रु. ५५,५५५ (पचपन्न हजार पाँच सय पचपन्न) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक युवराज खडकाले जानकारी गराए।
यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधामा समेत सम्मान गरिनेछ। प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर तथा हाई स्कोरर लाई विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको मूल नारा “गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प” भन्ने सन्देशमार्फत खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउने लक्ष्य आयोजकले लिएको जनाएको छ।