
सुर्यनगर । लेखनाथ युनाइटेड, कास्की जारी छैटौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न क्वाटरफाइनल खेलतर्फ लेखनाथले नेपालगंज–११ लाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । लेखनाथको जितमा जोन ग्लोरीले २ गोल गरे भने रुपक लामाले थप एक गोल गरे ।
लेखनाथका लागि दुई गोल गरेका ग्लोरी खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २५०० र ट्रफी समेत हात पारे ।
प्रतियोगिता अन्तरगत फागुन १८ गते मंगलकारको पहिलो सेमिफाइनल खेल खनाल ब्रदर्श, रुपन्देही र सेन्ट्रल कलेज भरतपुर एफसी, चितवनबीच हुने आयोजकले जनाएको छ ।
श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।