
काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनौटतर्फ म्याच डे ७ र ८ का खेलहरु अन्तरगत ३० मार्चका दिन हुने भनिएको समूह बी तर्फको नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । सो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरन राईले समेत गरेका छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) ल े मंगलबार प्रकाशित गरेको समाचार अनुसार छनौट खेलतर्फ म्याच डे ७ र ८ का खेलहरु मध्ये अब केवल तीन खेलहरु मात्र हुने जनाएको छ । यसअघि नेपाल र अष्ट्रेलिया बीचको खेल यहि मार्च ३० तारीखका दिन काठमाडौं स्थित दशरथ रंगशालामा हुने तय भएको थियो ।
तर पछिल्लो समय छनौट खेल खेल्ने विभिन्न सदस्य राष्ट्रहरुमा अझै पनि कोभिड–१९ महामारीको त्रास कायम रहेको तथा त्यस्ता देशहरुमा यात्रा गर्न सम्बन्धित देशको निकायहरुले पनि कडाई गरेकाले छनौट खेलतर्फका केही खेलहरु तत्कालका लागि स्थगित गरिएको एएफसीले जनाएको छ ।
एएफसीले आफू मातहतका सबै सदस्य राष्ट्रहरुका खेलाडी, अफिसियल तथा अन्य स्टाफहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सो निर्णय लिएको बताएको छ । साथै खेलाडी र टिमको स्वास्थ्यसँग आफूहरुले कुनै सम्झौता नगर्ने समेत स्पष्ट पारेको छ ।
त्यति मात्र नभएर एएफसीले स्थगित भएका खेलहरु सुचारु गर्न छनौट खेल खेल्ने सदस्य राष्ट्रहरुलाई तटस्थ खेलस्थल छनौट गर्न आव्हान समेत गरेको छ । एएफसीले सबै सदस्य राष्ट्रहरुसँग आवश्यक सल्लाह गरेर नै बाँकी खेलहरु सूचार गर्न प्रयास गर्ने पनि बताएको छ ।
JUST IN: 3️⃣ #AsianQualifiers matches to go ahead in March!
— #AsianCup2023 (@afcasiancup) March 2, 2021
March 25: 🇹🇯 Tajikistan v 🇲🇳 Mongolia
March 30: 🇸🇦 Saudi Arabia v 🇵🇸 Palestine
March 30: 🇲🇳 Mongolia v 🇯🇵 Japanhttps://t.co/DMGuAnE3ZY
नेपालले तीन खेलहरु खेल्न बाँकी
छनौट खेलतर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलियासहित जोर्डन र चाइनिज ताइपेईसँग गरि तीन खेलहरु खेल्न बाँकी छ । जसमध्ये चाइनिज ताइपेई र जोर्डनसँगको खेल क्रमशः ३ र ११ जुनका दिन हुने तय भइसकेको छ । नेपालले अष्ट्रेलियासँगको खेल पनि अब जुन मै खेल्ने सम्भावना पनि छ ।
मार्चमा हुने तीन खेलहरु
एएफसीले सार्वजनिक गरेको नयाँ खेलतालिका अनुसार अब मार्चमा मात्र तीन खेलहरु हुने छन् । जसमा समूह डी तर्फ साउदी अरब र प्यालेस्टाइन बीचको ३० मार्चका दिन रियादमा हुनेछ ।
त्यस्तै समूह एफ तर्फ ताजिकिस्तान र मंगोलिया बीचको खेल २५ मार्चका दिन ताजिकिस्तानको घरेलु मैदान दुशान्बेमा हुनेछ भने मंगोलिया र जापानबीचको खेल ३० मार्चका दिन चिबामा हुनेछ ।