
मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
चैत १३ गतेदेखि २२ गतेसम्म गोल्डकप आयोजन गर्न लागिएको बागमती गाउँपालिका खेलकुद विकास समितिले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
बागमती गाउँपालिकाको प्रमुख प्रायोजन र अन्य विभिन्न संघसंस्थाको सहयोगमा हुने प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर राईले जानकारी दिए।
फापरबारीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ए डिभिजनका क्लव र मोफसलका टोलीसहित करिब १० टिमको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई ६ विधामा जनही १० हजारका दरले पुरस्कृत गरिनेछ ।
प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिइने बागमती खेलकुद विकास समितिका सचिव प्रमोद राईले जानकारी दिए । प्रतियोगिताको लागि कुल ७७ लाख ४५ हजार रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
बागमती गाउँपालिकाले प्रतियोगिताको लागि ३५ लाख रुपैयाँ बेहोर्नेछ भने अन्य बजेट संघसंस्था, प्रायोजक र टिकट बिक्रीबाट उठाइने सचिव राईले बताए । पत्रकार सम्मेलनमा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँमै व्यवसायिक खेलाडी उत्पादन गर्ने र शैक्षिक स्तरलाई उकास्नकै लागि पनि खेलकुदका गतिविधिलाई प्राथमिकता दिइएको बताए ।
खेल क्षेत्रमा गरेको लगानीको उपलब्धी तत्कालै नदेखिने बताउँदै खेलकुदको क्षेत्रमा अझै प्रयाप्त लगानी गर्नु जरुरी रहेको घलानले बताए । पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटा, बागमती गाउँपालिका खेलकुद विकास समितिका पूर्वअध्यक्ष अरुण बल लामा, बागमती गाउँपालिका ६ नम्बर वडाका अध्यक्ष ध्रुव थापा, जनता माबिका प्रधानाध्यापक एवम् बागमती गाउँपालिका खेलकुद विकास समितिका सदस्य बसन्त राई लगायतको सहभागिता रहेको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा