News च्यासलमाथि रोलिङको सनसनी
गोलनेपाल

लक्ष्मीमार्ग । बिहीबारदेखि शुरु बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा रोलिङ क्लब, झापाले विजयी शुरुवात गरेको छ । लक्ष्मीमार्ग रंगशालामा भएको उद्घाटन खेलमा रोलिङले स्टार खेलाडीहरु भित्राएको च्यासल युथ क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले स्तब्ध बनाउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ च्यासलका लागि सुसन लामाले गोल गरे भने रोलिङका लागि हेनरीले गोल गरेका थिए । खेलमा रोलिङका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत कार्तिक १२ गते शुक्रबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र आमुक्त क्लब, वेस्ट बंगाल (भारत) बीच हुने प्रतियोगिता संयोजक बिक्रम बान्तवा राईले जानकारी दिए ।

डाँगीहाट युथ क्लबको आयोजना तथा बेलबारी नगरपालिका मोरङको विशेष सहयोगमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १७ गतेका दिन हुनेछ ।

Post Comments