
मोरङ । आफ्नै कप्तानीमा हिमालयन शेर्पा क्लबलाई सिजनको पहिलो उपाधिका रुपमा चौथो बेलबारी गोल्डकप जिताएका शेर्पाका कप्तान तथा फरवार्ड विश्वास श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
बुधबार विभागीय टोली एपिएफ क्लबलाई १–३ ले हराउँदै शेर्पा बेलबारी गोल्डकपको च्याम्पियन बनेको थियो । प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विजेता बनाएका विश्वासले सर्वोत्कृष्ट खेलाडी बने बापत नगद ३१ हजार र ट्रफी हात पारे ।
व्यक्तिगत विधातर्फ शेर्पा कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक शेर्पा कै किशोर गिरी चुनिए भने उत्कृष्ट डिफेन्डर पनि शेर्पा कै एन्जल गुरुङ बने । त्यस्तै उत्कृष्ट मिडफिल्डरको पुरस्कार भने एपिएफका नबिन लामाले हात पार्दा उत्कृष्ट फरवार्ड शेर्पा कै मुटम्बा घोषित भए ।
उत्कृष्ट प्रशिक्षक पनि शेर्पा कै किशोर राई बन्दा उदियमान खेलाडीको पुरस्कार भने आयोजक डाँगीहाट युथ क्लबका रोहन कार्कीले जिते । व्यक्तिगत विधातर्फ उत्कृष्ट बन्ने सबैले जनही ११–११ हजार हात पारे । त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार भने एपिएफका आशिष लामाले हात पारे । त्यसवापत उनले २१ हजार प्राप्त गरे ।
फाइनल खेलको म्यान अफ द म्याच हिमालयन शेर्पा कै संजित राई चुनिएका थिए । त्यसवापत उनले ट्रफी र ५५ सय हात पारेका थिए । स्मरण रहोस, प्रतियोगिताको विजेता बनेको शेर्पाले उपाधिसहित नगद ५ लाख हात पारेको थियो भने एपिएफले २ लाख ५० हजारमा चित्त बुझाएको थियो ।