
माङ्सेबुङ । शानदार जितका साथ सिरिजंगा स्र्पोटिङ क्लब, मोरङ यहाँ जारी १४औं आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सिरिजंगाले डिफेन्डिङ च्याम्पियन माने भञ्ज्याङ एफसी, दार्जिलिङ (भारत) लाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
आत्मानन्द खेलमैदानमा भएको खेलको २७औं मिनटमा सनम भुजेलको गोलबाट सिरिजंगाले खेलमा अग्रता लिएको थियो । ३७औं मिनटमा सन्तोष न्यौपानेले त्यो अग्रता दोब्बर पारे । लगतै ४० र ४६औं मिनटमा सनम भुजेलले नै थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीको जितमा अहम भूमिका पनि खेले ।
उता माने भञ्ज्याङका लागि ५०औं मिनटमा निश्चल राईले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा ह्याट्रिक गरेका सनम भुजेल नै म्यान अफ द म्याच समेत चुनिए । त्यसवापत उनले नगद १ हजार र मेडल हात पारे ।
प्रतियोगिता अन्तरगत मंसिर १५ गते बुधबारको पहिलो सेमिफाइनल खेल घरेलु टोली माङ्सेबुङ गाउँपालिका खेलकुद विकास समिति र फिदिम स्र्पोटिङ क्लबबीच हुनेछ ।
आत्मा पवित्र हक्चात यक्चुम, माङ्सेबुङ इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १६८ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख १६८ रुपैयाँ प्राप्त गर्नेछ । जिल्ला फुटबल संघ, इलामको प्राविधिक सहयोग रहेको प्रतियोगिताको फाइनल खेल यहि मंसिर १७ गतेका दिन हुनेछ ।