
काठमाडौं । गत संस्करणको दोस्रो स्थानमा रहेर लिग समापन गरेको दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले ए डिभिजन लिगमा शुक्रबार पाँचौं बराबरी खेलेको छ ।
लिगको साँतौं चरणको पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफ क्लबसँग १–१ को बराबरी खेलेको हो । लिएको अग्रता केही क्षणमै गुमाउन पुगेको आर्मीले अन्ततः बराबरी मै चित्त बुझाउन पर्यो ।
दशरथ रंगशालामा भएको खेलको ६३औं मिनटमा जर्ज प्रिन्स कार्कीको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । तर त्यसको चार मिनट लगतै एपिएफका लागि बिकी तामाङले बराबरी गोल फर्काएका थिए ।
खेलमा आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि ७ खेलबाट ११ अंक जोडेको आर्मी लिगतालिकाको चौथो स्थानमा छ । उता एपिएफ भने ६ अंकका साथ ११औं स्थानमा छ ।
फ्रेण्डसलाई खतरा, न्युरोडको लय जारी
त्यस्तै यस सिजन खराब लयमा देखिएको फ्रेण्डस क्लबले न्युरोडटिम (एनआरटी)सँग ३–२ को हार बेहोर्यो । एनआरटीका लागि मेसुकेले दुई गोल गरे । खेलको पाँचौं मिनटमै स्टेफन समिरको गोलबाट अग्रता लिएको एनआरटीका लागि २०औं मिनटमा मेसुकेले दोस्रो गोल थपेका थिए ।
दोस्रो हाफको अन्तिम समय भने नाटकीय बन्यो । ८१औं मिनटमा फ्रेण्डसका लागि जमुल एन्थोनीले पहिलो गोल फर्काए । तर ९०+४औं मिनटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा एनआरटीका लागि तेस्रो गोल गरे जुन निर्णायक गोल पनि बन्यो । तेस्रो गोल खाएको चार मिनट लगतै नाथनिल गार्सियाले फ्रेण्डसका लागि दोस्रो गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।
यो नतिजापछि जितविहीन फ्रेण्डस ७ खेलबाट ३ अंकका साथ लिगतालिकाको पुछारमा संघर्षरत छ । उता जित निकालेको एनआरटी भने १० अंकका साथ पाँचौं स्थानमा पुगेको छ ।