
काठमाडौं । नेपाली फुटबलको पुरानो र सफलतम क्लब मध्ये एक न्युरोडटिम (एनआरटी) ले मलेसियामा टुवान याङ टेरुतमा (टिवाईटी) कप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
मलेसियाको पेनाङ स्थित पेनाङ सिटी स्टेडियममा हुन गईरहेको प्रतियोगिता आउँदो जुन २८ देखि २ जुलाईसम्म चल्ने क्लबले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रतियोगितामा एनआरटी बाहेक मलेसियन सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेशी क्लब मुक्तिाजोधा सङसद केसीले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले ५ हजार मलेसियन रिंगेट हात पार्ने क्लबले जनाएको छ । प्रतियोगिताकै तयारीका लागि एनआरटीले मलेसिया जानु अघि केही अभ्यास खेल्ने कार्यक्रम रहेको पनि क्लबले विज्ञप्तीमा उल्लेख गरेको छ । साथै खेलाडी अनुवन्ध प्रक्रिया पनि शुरु गरिसकेको क्लबले जानकारी दियो ।
शहिद स्मारक ए डिभिजन लिगको उपाधि पाँचपटक जितिसकेको एनआरटीले गत फागुनमा सम्पन्न ए डिभिजन लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेर सिजनको समापन गरेको थियो । क्लबले मलेसिया भ्रमणलाई प्रिसिजन तयारीका रुपमा समेत हेरेको छ ।