News साविक विजेता एपिएफ सेमिफाइनलमा
उमेश पुन

पोखरा । साविक विजेता एपिएफ फुटबल क्लब यहाँ जारी २२औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा धरान एफसी, सुनसरीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा भएको खेलको ३७औं मिनटमा बिकु तामाङ र ४०औं मिनटमा युवराज खड्काले गरेको गोल एपिएफलाई जित दिलाउन प्रर्याप्त बन्यो । दोस्रो गोलका लागि बिकुले नै पास मिलाइदिएका थिए ।

खेलमा नायकीय भूमिका खेलेका एपिएफका बिकु तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष १७ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र एफसी र चर्च ब्वाईज युनाइटेड एफसीबीच हुनेछ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २३ गतेका दिन हुनेछ ।

Post Comments