News पाँचौं सरावल अध्यक्ष कप शुरु, फोर ब्रदर्शको शानदार शुरुवात
सुरज राना मगर

बसही । शनिबारदेखि शुरु नवलपरासी जिल्ला कै दोस्रो ठुलो पुरस्कार राशीको पाँचौं सरावल अध्यक्ष कप राष्ट्रिय फुटबल प्रतियोगितामा फोर ब्रदर्श एफसी, नवलपरासीले शानदार शुरुवात गरेको छ ।

सरावल–१ स्थित बसही रंगशालामा भएको उद्घाटन खेलमा फोर ब्रदर्शले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

फोर ब्रदर्शको जितमा फागुराम थारुले दुई गोल गरे भने जमिर मिया र अशोक तामाङले थप एक–एक गोल गरे । खेलमा फोर ब्रदर्शका लागि दुई गोल गरेका फागुराम म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत पौष १७ गते आइतबारको खेल विपी स्मृति क्लब, माकर र कञ्चन–११, रुपन्देही बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजन चमारले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले नवलपरासीलाई फुटबल कै माध्यमबाट राष्ट्रियस्तरमा चिनाउन आफूहरुले प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगिता आयोजनाले स्थानीय खेलाडीलाई अवसर र जिल्ला कै पहिचान र प्रवद्र्धन हुने उनले बताए । प्रतियोगितालाई निरन्तर भव्य बनाउन सबैसँग सहकार्य गरेर अगाडी बढ्ने पनि उनले बताए ।

सरावल गाउँपालिका, नवलपरासीको आयोजना तथा बसन्त युथ क्लब, सरावल–१, बसहीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ प्राप्त गर्नेछ ।

कुल १५ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।

Post Comments