News फराकिलो जितका साथ युवा संघ क्वाटरफाइनलमा
सुरज राना मगर

बसही । फराकिलो जितका साथ राष्ट्रिय युवा संघ नेपाल, नवलपरासी यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बसही रंगशालामा मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ युवा संघले डि युनिटी क्लब, खैरेनीलाई ७–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । युवा संघका लागि बेदनाथ भट्टराईले ह्याट्रिक गरे । त्यस्तै अनुज भण्डारीले दुई गोल गरे भने निराजन क्षेत्री र कप्तान चुडामणी चौधरीले थप एक–एक गोल गरे ।

उता पराजित डि युनिटीका लागि टेकेन बाह्रघरे र अशिम नेपालीले गोल गरे । खेलमा युवा संघका ह्याट्रिकर्ता बेदनाथ भट्टराई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पौष २० गते बुधबारको खेल आयोजक सरावल गाउँपालिका र न्यू हिमचुली, बोहियाबीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष ३० गतेका दिन हुनेछ ।

Post Comments