News सिमरा, एबीसी र मनाङ सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हैटौडा । सिमरा भेट्रान्स, एबीसी भेट्रान्स, पोखरा र मनाङ मस्र्याङ्दी भेट्रान्स, काठमाडौं यहाँ जारी आठौं हेटौडा भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा सिमराले हेटौडा भेट्रान्स (बी) लाई शून्यका विरुद्ध १ गोलले हरायो । सिमराका लागि बिनोद परियारले एक मात्र निर्णायक गोल गरे । परियार नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा एबीसीले हेटौडा भेट्रान्स (ए) लाई ५–१ को फराकिलो अन्तरले हरायो । एबीसीका लागि विजय गुरुङले ह्याट्रिक गरे भने हरि ब. खड्काले थप दुई गोल गरे । उता हेटौडाका लागि प्रशान्त पाख्रीनले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा हेटौडाका ज्ञानु क्षेत्री म्यान अफ द म्याच चुनिए ।

तेस्रो क्वाटरफाइनलमा मनाङले एक्स भेट्रान्स, पोखरालाई १–० ले हरायो । खेलमा मनाङका लागि शिशिर बहादुर हमालले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता हमाल नै म्यान अफ द म्याच चुनिए ।

सोही दिन एक मात्र प्रिक्वाटरफाइनल खेल पनि सम्पन्न भयो । जसमा जोरपाटी भेट्रान्स, काठमाडौंले बगर भाई खलक, पोखरालाई २–० ले हरायो । जोरपाटीका लागि रन्जित लामा र अर्जुन लामाले गोल गरे । अर्जुन लामा खेलको म्यान अफ द म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तरगत शुक्रबार एक क्वाटरफाइनल र दुई सेमिफाइनल खेलहरु हुनेछन् । क्वाटरफाइनलतर्फ बानेश्वर भेट्रान्स, काठमाडौं र जोरपाटी भेट्रान्स, काठमाडौं भिड्ने छन् । यो खेलको विजेताले दोस्रो सेमिफाइनलतर्फ सिमरा भेट्रान्सको सामना गर्नेछ । त्यसैगरी अर्को सेमिफाइनलमा एबीसी र मनाङ भिड्ने छन् ।

हेटौडा भेट्रान्स क्लब, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पौष २३ गतेका दिन हुनेछ ।

Post Comments