
फापरबारी । नेपाली मैदानमा उत्कृष्ट लयमा देखिएको अमेरिकी टोली भुटनिज युथ स्पोर्टस क्लब, मिनेसोटा यहाँ जारी पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो सेमिफाइनलमा भुटनिजले जावलाखेल युथ क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । नेपाल भ्रमणमा रहेको बीवाइएससीको यो लगातार चौथो फाइनल समेत हो ।
यसअघि अमेरिकी टोलीले झापामा दुई फाइनल खेलेको थियो भने केही साता अघि पोखरामा सम्पन्न आहा! रारा पोखरा गोल्डकपको फाइनलमा उपविजेता बनेको थियो ।
बागमती गाउँपालिका–८ स्थित जनता माविको खेलमैदानमा सम्पन्न खेलको ३४औं मिनटमा प्रबिण बस्नेतले गरेको एक मात्र गोल अमेरिकी टोलीलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता बस्नेत नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत माघ १ गते आइतबारको दोस्रो सेमिफाइनल खेल घरेलु टोली मकवानपुर–११ र दावेदार संकटा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा