
वालिङ । एभनिर एफसी, क्यामरुन यहाँ जारी वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक वालिङ युनाइटेड (रातो) लाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्यामरुनी टोली फाइनलमा प्रवेश गरेको हो ।
वालिङ रंगशालामा भएको खेलको अन्तिमतिर एभनिरले नाटकीय रुपमा दुई गोल गर्यो । खेलको ८५औं मिनटमा टिम्बा टिम्बाले पहिलो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा साहाले दोस्रो गोल गर्दै क्यामरुनी टोलीको जित सुनिश्चित गरेका थिए । खेलमा एभनिरका साहा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ४ हजार प्राप्त गरे ।
त्यस्तै बिहीबारको खेल केहीबेर तनावपूर्ण पनि बनेको थियो । खेल कै क्रममा बिना कुनै जानकारी आपतकालिन अवस्था नहुँदा पनि खेलकै क्रममा वालिङका स्थानीय चढेको हेलिकप्टर खेलमैदानमा झर्दा खेल रोकिन पुगेको थियो । खेल रोकिएपछि आक्रोशित बनेका स्थानीय दर्शकहरुले हेलिकप्टरमा सवारहरुलाई हातपात समेत गरेका थिए ।
मर्यादा विपरित हेलिकप्टरका क्याप्टेनले खेलमैदानमा हेलिकप्टर पुर्याएको भन्दै आयोजक र स्थानीय प्रशासनले क्याप्टेनको लाइसेन्स कार्ड जफत गरि हेलिकप्टर तत्काल फर्काएका थिए । तत्पश्चात् मात्र खेल फेरि सूचारु भएको थियो । म्याच कमिश्नर लक्ष्मण बिकका अनुसार हेलिकप्टरमा सवारहरुले मादक पदार्थ पनि सेवन गरेका थिए ।
बिहीबार जित हात पारेको एभनिरले माघ ७ गते शनिबारका दिन अर्को आयोजक टोली वालिङ युनाइटेड (निलो) सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछ ।