
हेटौडा । संघर्षपुर्ण जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा मनाङले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
टाईब्रेकरमा मनाङका लागि सरोज योन्जन, भिषन गुरुङ, आशिष गुरुङ र सैदजामोल देवलास्नोवले गोल गरे । उता एपिएफका लागि नविन लामा र सुदिप सिख्राकारले मात्र गोल गर्न सके । सनिष श्रेष्ठको प्रहार बाहिरिएको थियो भने दिपेश धिमालको प्रहार मनाङका गोलरक्षक दिप कार्कीले जोगाएका थिए ।
निर्णायक बनेका मनाङका गोलरक्षक दिप कार्की नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ८ गते सोमबारको दोस्रो सेमिफाइनल खेल एभनिर एफसी, क्यामरुन र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा