News रोहितको टोली पेर्सिकको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियन शिर्ष लिगमा यस सिजन खराब प्रदर्श गरिरहेको नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार मात्र रान्स नुसनतारालाई ५–१ ले हराएको पेर्सिकले मंगलबार बलियो एरेमा एफसीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।

पेर्सिकले खेलको २२औं मिनटमा मिफ्ताहुल हाम्दीको गोलबाट अग्रता बनाएको थियो । त्यसको दश मिनट लगतै फ्लावियो सिल्वाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ३८औं मिनटमा योहानेस पहाबोलले पेर्सिकका लागि तेस्रो गोल गर्दै टोलीको जित पहिलो हाफ मै तय गरेका थिए ।

उता एरेमाले खेलको अन्तिमतिर दुई गोल गरे पनि हार टार्न सकेन । ८३औं मिनटमा रोहित चन्दले आत्मघाती गोल गर्दा एरेमाले पहिलो गोल फर्कायो । ८६औं मिनटमा डेडिक सेटियावानले एरेमाका लागि दोस्रो गोल गरे तर टोलीलाई हारबाट जोगाउन सकेनन ।

यो जितका बावजुद २६ खेलबाट २३ अंक जोडेको पेर्सिक रेलिगेशन क्षेत्रको १७औं स्थान मै संघर्षरत छ । उता पराजित एरेमा भने २५ खेलबाट ३२ अंकका साथ १२औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल शनिबार बारिटो पुतेरासँग खेल्नेछ ।

Post Comments