
धरान । उत्कृष्ट जितका साथ काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर जारी २३औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा काकरभिट्टाले युकेएफसी, दार्जिलिङ्गलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
धरान रंगशालामा भएको खेलमा काकरभिट्टाका लागि योमी, सुशिल राई र निशान लिम्बुले गोल गरे । उता पराजित युकेएफसीका लागि हेमराज भुजेलले एक मात्र सान्त्वना गोल फर्काए ।
खेलमा काकरभिट्टाका योमी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत फागुन १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एन्फा मोरङ्ग र एभनिर एफसी, क्यामरुनबीच हुने आयोजकले जानकारी दियो ।
धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।