News फ्रेण्डसमाथि एपिएफको रोमाञ्चक जित
गोलनेपाल

काठमाडौं। कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले सोमबार महत्वपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले फ्रेण्डस क्लबमाथि ५–२ को प्रभावशाली जित निकाल्यो । खेलको १२औं मिनटमै आशिष लामाको हेड गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफ हुनु अघि ठिक ४०औं मिनटमा आशिष लामाले नै एपिएफको अग्रता दोब्बर पारे । यद्यपि ६८औं मिनटमा फ्रेण्डसका लागि फिलिपे डि ले पहिलो गोल फर्काए । तर, लगतै ७१औं मिनटमा प्रबिन स्याङ्तनले एपिएफका लागि तेस्रो गोल गरे ।

उता त्यसलगतै ७५औं मिनटमा फ्रेण्डसका लागि विश्व अधिकारीले आकर्षक फ्रिकिक गोल गर्दै खेललाई ३–२ को रोमाञ्चक मोडमा ल्याए । तर, त्यसपछि खेलमा एपिएफ हावी देखियो । र, इन्जुरी समयमा नाटकीय दुई गोल थप्न सफल भयो ।

इन्जुरी समयको ९४औं मिनटमा टोप बहादुर बिष्टले एपिएफका लागि चौथो गोल गर्दा ९६औं मिनटमा प्रविन स्याङ्तनले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे ।

यो जितसँगै १२ खेलबाट ८ अंक जोडेको एपिएफ १२औं स्थानमा छ र पुछारको सरस्वती भन्दा ४ अंकले माथि छ । उता पराजित फ्रेण्डस भने १४ अंकका साथ नवौं स्थानमा छ ।

Post Comments