
बिर्तामोड । झापाको बिर्तामोडमा यही बैशाख ३० गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय न्यू स्टार क्लबको आयोजनामा बिर्तामोड ७ खोपबाडीस्थित खेलमैदानमा गोल्डकप हुने भएको हो ।
आयोजकले पत्रकार सम्मेलनमार्फत गोल्डकपको बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख १ र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५ ५ हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए ।
यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ ।
गोल्डकपमा १३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने स्थानीय संघसंस्था र फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिरहेको आयोजकको भनाइ छ ।
प्रतियोगितामा आयोजक न्यू स्टार क्लब झापाले ताप्लेजुङ जिल्ला फुटबल संघ, बराह ११ सुनसरीले डिएसए भुटान, रेड हर्ष एफसी इलामले युकेएफसी भारत र जनसहयोग युथ क्लब मोरङले सप्तरीको नवबुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
जेठ ६ गते फाइनल खेल हुने गोल्डकपको ८० प्रतिशत तयारी पूरा भएको बताइएको छ । पक्की मञ्च निर्माणको तयारी अन्तिम पारिएको छ भने दायाँ र बायाँपट्टि बाँसको प्यारापिट निर्माण गरिएको छ ।
व्यवस्थित खेलमैदान निर्माणका लागि स्थानीय ३५ देखि ४० जना खेलप्रेमीले दैनिक जनश्रमदान गरिरहेको अध्यक्ष लिम्बूले जानकारी दिए । करिब ५ लाख मूल्यबराबरको जनश्रमदान भएको बताइएको छ । कोभिडका कारण ठप्प रहेको खेलकुदको गतिविधिलाई चलायनमान बनाउन गोल्डकप आयोजना गरिएको आयोजकको भनाइ छ ।
राष्ट्रिय खेलाडी सञ्जोग राईदेखि एन्फा रेफ्रीसमेत उत्पादन गरेको यस क्लबले आगामी दिनमा एकाडेमीका रुपमा सञ्चालन गर्ने उद्देश्य लिएको क्लबका सहसचिव डिल्लीराम चम्लागाईले बताए ।