
कालाबञ्जर एफसी दोस्रो हरियाली नकआउट फुटबल प्रतियोगितामा उत्कृष्ट जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बराहक्षेत्र–८, सुनसरी स्थित आयोजक हरियाली युथ फुटबल क्लबको खेलमैदानमा सम्पन्न खेलमा कालाबञ्जरले रामधुनी एफसीलाई ५–३ ले हरायो । कालाबञ्जरको जितमा गोविन्द अधिकारीले दुई गोल गरे । त्यस्तै सन्तोष चौधरी, रोशन माफी र देव माझीले एक–एक गोल गरे ।
उता पराजित रामधुनीका लागि सुमन चौलागाई, अभिषेक पोखरेल र साजन राईले गोल फर्काएका थिए । खेलमा कालाबञ्जरका सन्तोष चौधरी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत असोज २२ गते सोमबारको खेल आयोजक बराहक्षेत्र एफसी र सप्तकोशी युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।
हरियाली युवा फुटबल क्लब, वराहक्षेत्र–८, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक १ गते हुनेछ ।