
हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत वर्ष माघ २८ देखि फागुन १० गतेसम्म भएको स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो । जस अनुसार प्रतियोगिता आयोजनाबाट कुल १,२१,३३,२३६ रुपैयाँ कुल आम्दानी भएको आयोजकले जनाएको छ ।
त्यसमध्ये १,१९,२२,७९१ रुपैयाँ खर्च भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए । त्यस्तै प्रतियोगिता आयोजनाबाट २,१०,४४५ रुपैयाँ नाफा भएको पनि अध्यक्ष लामाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्मरण रहोस, गत वर्ष हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको पाँचौं संस्करणको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । फाइनलमा मनाङले हिमालयन शेर्पा क्लबलाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख हात पारेको थियो भने उपविजेताले १० लाख प्राप्त गरेको थियो । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाईकल प्रदान गरिएको थियो ।
त्यसैगरी आयोजकले प्रतियोगिताको छैठौं संस्करणका लागि बागमती प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गरायो । साथै यस वर्ष हुने प्रतियोगिताको छैठौं संस्करण पनि भव्यताका साथ सम्पनन गर्ने योजना रहेको आयोजकले सुनायो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा