काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ क्रमिक लयमा फर्किएको नवप्रवेशी टोली बिरगंज युनाइटेडले बिहीबार साविक विजेता काठमाडौं रेजर्समाथि ४–१ को सनसनीपूर्ण जित निकाल्दै आफ्नो शिर्ष चारको होडलाई कायम राखेको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा काठमाडौंले शुरुवाती अग्रता लिए पनि खेल भने गुमाउन पुग्यो । २०औं मिनटमा जुनियर एन्केंगुको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । तर पहिलो हाफ कै अतिरिक्त समयमा विलियम ओपोकुले पेनाल्टीमार्फत बिरगंजका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफ शुरु भएको पहिलो मिनट मै सुनिल खड्काले बिरगंजका लागि दोस्रो गोल गरे । लगतै ५५ र ५७औं मिनटमा ओपोकुले लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीको प्रभावशाली जित पनि पक्का गरे ।
बिरगंजका ह्याट्रिककर्ता ओपोकु खेलको प्लेयर अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार हात पारे । यो जितपछि ७ खेलबाट ८ अंक जोडेको बिरगंज छैठौं स्थानमा उक्लेको छ र शिर्ष चारको सम्भावनालाई कायम राखेको छ । पराजित काठमाडौं भने ९ अंकका साथ पाँचौं स्थानमा छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै