
फर्साटिकर । मोफसलको फुटबलमा फरक र सफल पहिचान बनाउँदै निरन्तर सक्रिय रहेको फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा हुने शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिताबारे जानकारी गराउन आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना समेत सम्पन्न गर्यो । यही पुस ९ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
फर्साटिकर उमाविको खेलमैदानमा हुने उद्घाटन खेलमा शुद्धोधन खेलकुद विकास समिति, शुद्धोधन र समपुर्ण युवा कलब, सुपौली भिड्ने छन् ।
प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र चितवनका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक अमृत खड्काले बताए । युवा र मोफसलका स्थानीय खेलाडीहरुलाई नै लक्षित गरी प्रतियोगिता आयोजनालाई निरन्तरता दिइएको आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका कार्यवाहक सचिव बिष्णु पंगेनीले बताए । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको पनि सचिव पंगेनीले जानकारी दिए ।
प्रतियोगिताको टिकटदर उद्घाटनदेखि सेमिफाइनलसम्म १०० र फाइनलमा २०० तोकिएको पनि खेल संयोजक अमृत खड्काले जानकारी दिए । प्रतियोगिताको समापन र फाइनल प्स २१ गतेका दिन हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
खेलतालिका हेर्नुहोसः