
इटहरी । यहाँ शुरु अन्तर नगर कप नकआउट फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिकाले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा धरानले सुन्दरहरैचा नगरपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा धरानका लागि दोस्रो हाफको १८औं मिनटमा इन्सन राईले गरेको एक मात्र गोल ‘निर्णायक गोल’ बन्यो । निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २१०० र मेडल हात पारे ।
यो जितसँगै धरान सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुस ८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल दमक नगरपालिका, झापा र बराहक्षेत्र नगरपालिका, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेम कर्ण पौडेलले गरेका थिए । इटहरी फुटबल क्लब, इटहरी, सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका, सुनसरीको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।
कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस १४ गतेका दिन हुनेछ ।