News धरान प्रथम इटहरी नगर कपको फाइनलमा
गोलनेपाल

इटहरी । संघर्षपुर्ण जितका साथ धरान उपमहानगरपालिका, सुनसरी यहाँ जारी प्रथम इटहरी नगर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ धरानले बेलबारी नगरपालिका, मोरङलाई सडन डेथमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि इटहरी स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ खेलको ३५औं मिनटमा आदित्य तामाङको गोलबाट बेलबारीले खेलमा अग्रता बनाएको थियो । तर ४१औं मिनटमा मदन लोबुङ्गले धरानका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा खेल सडन डेथतर्फ धकेलिएको थियो । सडन डेथमा भने धरानले ५–४ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा धरानका आमोस लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१०० र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत पुस १२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल इटहरी उपमहानगरपालिका, सुनसरी र दमक नगरपालिका, झापाबीच हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, इटहरी, सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुस १४ गतेका दिन हुनेछ ।

Post Comments