News युनाइटेड फुल्पा र सन्दकपुर फाइनलमा भिड्ने
गोलनेपाल

फिदिम । युनाइटेड फुल्पा र सन्दकपुर फुटबल क्लब यहाँ जारी वाइवाइ तेस्रो चासोक तङ्नाम कप पुरुष फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा युनाइटेड फुल्पाले वानेम स्टारलाई २–० ले हरायो ।

फिदिम–१४, फुल्पा स्थित कांसोरे खेलमैदानमा भएको खेलमा युनाइटेड फुल्पाका लागि संजय धिमाल एक्लैले दुवै गोल गरे । धिमाल नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सन्दकपुरले चोकमगु फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल स्थान तय गर्यो । सन्दकपुरका लागि सुसन कार्कीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता कार्की नै खेलको म्यान अफ द म्याच घोषित भए ।

अब यही पुस १३ गतेका दिन हुने फाइनलमा युनाइटेड फुल्पा र सन्दकपुर उपाधिका लागि भिड्ने छन् । आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

Post Comments