News समपुर्ण ११औं फर्साटिकर कपको सेमिफाइनलमा
सुरज राना मगर

फर्साटिकर । रोमाञ्चक पूनःरागमन गर्दै समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाइनलतर्फ समपुर्णले छिमेकी प्रतिद्वन्द्वी लिस्नु युवा क्लब, कोटिहवालाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलको आठौं मिनट मै ओस्कार साम्बोको गोलबाट लिस्नुले खेलमा अग्रता लिएको थियो ।

तर खेलमा समपुर्णले रोमाञ्चक पूनःरागमन गर्यो । समपुर्णका लागि खेलको ५६ र ७०औं मिनटमा निखिल पुनले लगातार दुई गोल गर्दै टोलीको रोमाञ्चक जित सुनिश्चित गरे । समपुर्णको जितमा नायक बनेका निखिल पुन नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस १४ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल विश्व शान्ति युवा क्लब, सालझण्डी र कपिलवस्तु–११, कपिलवस्तु बीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

Post Comments