बुटवल । विजय टोल विकास संस्था र बेलबास युथ क्लब, बुटवल–१३, बेलबास, रुपन्देहीको आयोजनामा सम्पन्न तीज स्पेशल फुटसल कप खुला फुटसल प्रतियोगिताको उपाधि आयोजक बेलबास युथ क्लबले नै जितेको छ ।
बुटवल–१३ स्थित लियो फुटसलमा सम्पन्न फाइनल खेलमा बेलबासले मणिग्राम युनाइटेड, तिलोत्तमालाई ३–१ ले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।
विजेता बनेको बेलबासले उपाधिसहित नगद ६० हजार हात पार्यो भने उपविजेता मणिग्रामले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ पनि बेलबास कै वर्चश्व रह्यो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बेलबासका बिनय तामाङ बन्दा उत्कृष्ट गोलरक्षक पनि बेलबास कै अन्जन क्षेत्री बने । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार पनि बेलबास कै सुवास गुरुङले हात पारे । फेयर प्ले पुरस्कार सालघारी युनिटी एफसीले प्राप्त गर्यो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का वार्ड अध्यक्ष नारायण प्रसाद पुन, विशिष्ठ अतिथी बुटवल–१३ कै वार्ड सदस्य लाल बहादुर गुरुङ, प्रहरी नायव निरीक्षक रन बहादुर जिसी, आयोजक क्लबका अध्यक्ष विवेक थापा लगायतले पुरस्कृत गरेका थिए ।
सो अवसरमा मेडिकल पार्टनर एडमन्ड सिटी हस्पिटल, बुटवलका सिइओ रमेश सिटौला, युवा व्यवसायी तथा सहयोगीहरु लोक राना, दिपक पुन, दिपक पाण्डे, नारायण श्रीस लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सोही अवसरमा प्रतियोगिता आयोजनाबाट बचत भएको केही रकम हालै आएको विनाशकारी बाढीका पिडितहरुको सहयोगार्थ खर्च गरिने पनि खेल संयोजक सबिन छन्त्यालले बताए ।
लगातार दुई दिन सन्तोष गुरुङले कार्यक्रम सञ्चालन गरेको दुई दिने प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएका थिए ।