
अस्नैया । संघर्षपुर्ण जितका साथ यहाँ सम्पन्न तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि मुर्गिया फुटबल क्लब, सैनामैनाले जितेको छ । फाइनलमा विश्व शान्ति युवा क्लब, सालझण्डीलाई हराउँदै मुर्गिया च्याम्पियन बनेको हो ।
कञ्चन–४ स्थित रुद्रपुर माविको खेल मैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । जसमा मुर्गियाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
विजेता बनेको मुर्गियाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता विश्व शान्तिले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
मुर्गियाका गोलरक्षक अनुप राना फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पनि मुर्गियाका अनुप राना बन्दा उत्कृष्ट डिफेन्डर मुर्गिया कै विश्वास थापा घोषित भए ।
सर्वाधिक गोलकर्ताको पुरस्कार सुनौलो संगम, कञ्चनका मनोज क्षेत्रीले हात पार्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी विश्व शान्तिका मिलन क्षेत्री घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, आयोजक रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीका अध्यक्ष लाल बहादुर थापा, खेल संयोजक दृष्टि राना मगरले पुरस्कृत गरेका थिए ।
स्थानीय खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा गत पुस २४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक दृष्टि राना मगरले बताए ।
समापन कार्यक्रममा बोल्दै आयोजक क्लबका अध्यक्ष लाल बहादुर थापाले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आभार र धन्यवाद प्रकट गरे । साथै आगामी दिनहरुमा पनि सबैको सकरात्मक साथ र सहयोगको अपेक्षा गरेको समेत अध्यक्ष थापाले बताए ।