
काठमाडौं । खेल मिलेमतो (म्याच फिक्सिङ) को अभियोग लागेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा सहित अन्य पाँच जनालाई सर्वोच्च अदालतले अन्तिम सफाई दिएको छ ।
सफाई पाउनेमा पूर्व कप्तान सागर थापा सहित उपकप्तान सन्दिप राई, गोलरक्षक रितेश थापा, रक्षक बिकास सिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र तत्कालिन फिजियोथेरापिस्ट डेजिब थापा रहेका छन् ।
स्मरण रहोस, प्रहरीले २०७२ सालमा विभिन्न देशहरुसँगको अन्तर्राष्ट्रिय फुटबल म्याचका क्रममा म्याच फिक्सिङ गरेको भन्दै उनीहरुलाई पक्राउ गरेका थियो । उनीहरुलाई राज्य विरुद्धको कसुरमा मुद्दा चलाइएको थियो ।
यद्यपि यसअघि २०७५ सालमा विशेष अदालतले थापासहित अन्य खेलाडी तथा प्रशिक्षकहरुलाई सफाई दिएको थियो । मंगलबार सर्वोच्चले पनि विशेष अदालत कै निर्णय सदर गरेको हो । न्यायाधिश बमकुमार श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त निर्णय गरेका हुन् ।
यसअघि प्रहरीको दावीअनुसार ती खेलाडी तथा प्रशिक्षकहरुले सन् २००८ देखि २०१४ सम्म विभिन्न अन्तर्राष्ट्रिय म्याचहरुमा मिलेमतो गरेको बताएका थिए ।
रिपोर्टअनुसार खेलाडीहरुमाथि मुद्दा चलिरहेको बेला म्याच फिक्सिङ सम्बन्धी कुनै कानुन नभएकाले उनीहरुलाई निर्दोष साबित गरिएको हो । यद्यपि अहिले फिक्सिङ सम्बन्धी नयाँ कानुन पारित भइसकेको छ । जसअनुसार यदि कुनै पनि खेलाडी म्याच फिक्सिङमा दोषी पाइए, उनीहरुलाई कम्तिमा पनि तीन बर्ष जेल सजाय हुने तोकिएको छ ।
ती खेलाडीहरुले सर्वोच्चबाट सफाई पाए तापनि एएफसीबाट भने अझै पनि उनीहरु आजीवन प्रतिवन्धमा नै छन् ।
अबको बाटो के होला त ?
यस विषयमा अब अखिल नेपाल फुटबल संघ (एन्फा) को भूमिका अहम हुन सक्छ । एन्फाले फिफा तथा एएफसीसँग सफाई पाएका खेलाडीहरुको प्रतिबन्धलाई कम र खुकुलो पार्न पहल गर्न सक्छ ।
साथै त्यसका लागि सम्बन्धित खेलाडीहरुले पनि एएफसी र फिफासँग अपिल गर्न सक्छन् । र कानुनी प्रक्रिया अवलम्बन गर्न पनि सक्छन् ।