News झापाको चुनौती समाप्त पार्दै चर्च ब्वाईज फाइनलमा
रमेश समदर्शी

बिर्तामोड । झापा ११ एफसी पहिलोपल्ट झापा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ । जारी छैटौ झापा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएपछि झापा ११ बाहिरिएको हो ।

पहिलोपल्ट झापा गोल्डकपमा सहभागिता जनाएको चर्च ब्वाइजले टाइब्रेकरमा ४-३ गोलअन्तरमा झापा ११ लाई स्तब्ध बनाउँदै फाइनल यात्रा तय गर्यो । निर्धारित ९० मिनेट र अतिरिक्त १४ मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

चर्च ब्वाइज फाइनल प्रवेश गरेसँगै यस संस्करणमा झापा गोल्डकपको च्याम्पियन नयाँ टोली निश्चित भएको छ । यसअघि त्रिभुवन आर्मी एफसीलाई १-० गोलले पराजित गर्दै एपीएफ एफसी उपाधि दौडमा उक्लिएको छ ।

टाइब्रेकरमा चर्च ब्वाइजका सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन् । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाका गोलकिपर सुदिप लिम्बूले बचाएका थिए ।

आदित्य शाक्य, विवेक पौडेल र आशिष चापागाईंको प्रहार गोलमा परिणत हुँदा प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्किएको थियो । यस्तै, विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । घरेलु टोली झापाको तुलानामा चर्च ब्वाइज बलियो देखिएको थियो । उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो ।

पहिलो हाफमा भने दुवै टोली फिक्का रहे । खासै गतिलो अवसर बनाउन सकेनन् । खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ । यसअघि भएको पाँचमध्ये चार संस्करण आर्मी र एक संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । मनाङले पहिलो संस्करण जित्दा त्यसयता आर्मी च्याम्पियन हुँदै आएको थियो ।

पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । उनले सोझै १४ जना र ११ जना खेल्नुपरेकाले जित निकाल्न नसकेको आरोप लगाए । ‘ुहार जित त हुन्छ तर रेफ्रीले निष्पक्ष खेल खेलाउन सकेनन्’, उनले भने ।

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले खेल सोचेभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिए । ए डिभिजन लिगपछिको नयाँ टिम रहे पनि प्रदर्शन सम्झनलायक भएको उनले सुनाए । नयाँ खेलाडी नथप्ने बताउँदै उनले एपिएफसँगको भेट रोचक बन्ने बताएका छन् ।

फागुन २८ गते गोल्डकपको फाइनल खेल हुनेछ । विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी प्राप्त गर्दा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments