News बुढासुब्बा गोल्डकपः एनआरटी फाइनलमा
गोलनेपाल

धरान । न्युरोडटिम (एनआरटी) जारी २४औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ एनआरटीले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि धरान रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ काकरभिट्टाका लागि फोडे फोफनाले गोल गरेका थिए भने एनआरटीका लागि सरोज तामाङले गोल फर्काएका थिए । टाईब्रेकरमा भने एनआरटीले काकरभिट्टामाथि ५–४ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।

खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । एनआरटीले अब शनिबार हुने फाइनलमा मोरङ जिल्ला फुटबल संघ उपाधिका लागि भिड्नेछ ।

धरान फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments