News तनावपूर्ण खेलबाट मानेभन्ज्याङ फाइनलमा
रमेश समदर्शी

झापा । तनावपूर्ण खेलमा जित दर्ता गर्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी यहाँ जारी आदर्श च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सीमित मानेभन्ज्याङले आयोजक आदर्श युवा क्लबलाई २-० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । पटक पटक तनाव सिर्जना हुँदा खेलमा कार्डका वर्षा भएको थियो ।

खेलमा तनाव सिर्जना भएपछि २ रातो कार्डसँगै १२ वटा कार्ड देखाइएको थियो । मानेभन्ज्याङ तीन खेलाडीले २ वटा रातो र ५ वटा पहेँलो कार्ड पाए भने आयोजकका चार खेलाडीले पहेँलो कार्ड पाए ।

मानेभन्ज्याङका उमंग राईले खेलको ३१औँ र ५८औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै रातो कार्ड पाएर मैदान बाहिरिए भने प्रविण रोयले पनि ६०औँ र ७१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

यस्तै, आयोजकका सौरभ सुब्बाले ७५औँ, प्रदिप बुढाथोकीले ७९औँ, पेमा तामाङले ८५औँ र सञ्जय श्रेष्ठले ८६औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको १६औँ मिनेटमा बिकी सिंहले दिएको पासमा सुरजले गोल गर्दै मानेभन्ज्याङलाई अग्रता दिलाएका थिए ।

मानेभन्ज्याङका लागि दोस्रो गोल खेलको ६१औं मिनेटमा कप्तान करण राईले दिएको पासलाई सौरभ तामाङले गोल गरेका हुन् । खेलको ५३औँ मिनेटमा आदर्शले पेनाल्टी पाएको थियो । अनुुभवी खेलाडी रोमन भुजेलले प्रहार गरेको पेनाल्टी मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङले उत्कृष्ट बचाउ गरेपछि आयोजक खेलमा फर्कन सकेन ।

खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङ घोषित भए । उनलाई प्रमुख अतिथि बुद्धशान्ति ढुवानी मजदुर संघका अध्यक्ष भवेस राजबंशीले नगद तीन हजार रुपैंयाँ पुरस्कार दिए ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज भएको खेलमा बुद्धशान्तिका चारजना ज्येष्ठ मजदुरलाई सम्मान गरिएको थियो । मजदुरहरु मदन राजवंशी, मस्लिम महमद, कालु राजवंशी र सुनिल राजवंशीलाई नगदसहित सम्मान गरिएको आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष दिपक सुुब्बा थेबेले जानकारी दिए ।

बिहीबारको अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड एफसी र बेलबारी एफसी मोरङबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र आकर्षक ट्रफी पाउने छ ।

Post Comments