News सहज जितका साथ सूर्यपुर सेमिफाइनलमा
गोलनेपाल

चितवन । रोयल जिम हाउस सूर्यपुर एफसी सेन्ट्रल प्रथम भरतपुर १८ गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न अन्तिम क्वाटरफाइनलमा माडी २ विरुद्ध सहज जित निकाल्दै सूर्यपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

भरतपुर १८ को मैदानमा भएको खेलमा सूर्यपुर ४-१ ले विजयी भयो । उसको जितमा सुरेश कुमाल र विक्की चाम्लिङ राईले दुई-दुई गोल गरे । माडीका निखिल महतोले एक गोल गरे । सुरेशले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाए ।

दोस्रो हाफमा सूर्यपुरले तीन गोल थप्यो । दोस्रो हाफको २० औं मिनेटमा सुरेशले व्यक्तिगत दोस्रो गोल गरेपछि सूर्यपुरले अग्रता दोब्बर बनायो । दोस्रो हाफको ३१ औं मिनेटमा निखिलले गोल गर्दै माडीलाई खेलमा फर्काउने संकेत गरे । तर ३५ औं मिनेटमा सुरेशको पासमा विक्कीले गोल गरेपछि सूर्यपुरले ३-१ को अग्रता लियो ।

अतिरिक्त समयमा पुनः सुरेशको पासमा विक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सूर्यपुर ४-१ ले विजयी भयो । दुई गोल र दुई एसिस्ट गरेका सुरेश म्यान अफ दि म्याच भए ।

यसैबीच सुरेशले म्यान अफ दि म्याचको पुरस्कार आफ्ना सहकर्मी खेलाडी निमेष मोक्तानलाई दिएका छन् । निमेषका बुवा माधव मोक्तानको मुटुको समस्याका कारण कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरमा आईसियूमा उपचार भईरहेकोले छ । उनको उपचारकाका लागि सुरेशले आफ्नो पुरस्कार निमेषलाई दिएका हुन् ।

यो खेलसँँगै क्वाटरफाइनलका खेलहरु सकिएको छ । भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा भोलि सेन्ट्रल कलेज २८ बिघा र हानामी भरतपुर फुटबल क्लब भिड्नेछन् । दोस्रो सेमिफाइनलमा सोमबार आयोजक भरतपुर १८ र आजको विजेता सूर्यपुर एफसीबीच प्रतिस्पर्धामा हुनेछ ।

Post Comments