News काठमाडौं महानगर र मध्यपुर थिमि सेमिफाइनलमा,
गोलनेपाल

ललितपुर । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।

गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा सम्पन्न क्बाटरफाइनल खेलमा मध्यपुरले कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले हराउँदै अन्तिम चारको टिकट काटेको हो ।

मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले एक–एक गोल गरे । खेलमा दिपक बासान म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

शनिबार नै भएको अन्तिम क्बाटरफाइनलमा काठमाडौं महानगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको बि टिमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

काठमाडौंका लागि दुबै गोल राज पौडेलले गरे । पराजित गोदावरीका लागि राजन महर्जनले गोल फर्काएका थिए । खेलमा काठमाडौंका लागि दुई गोल गरेका राज पौडेल म्यान अफ द म्याच घोषित भए । उनले पनि नगद ५ हजार र ट्रफी हात पारे ।

मंगलबार सेमिफाइनलका दुबै खेल

क्वाटरफाइनल खेलहरु सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । आगामी बैशाख २५ गते मंगलबार दिउँसो साढे १२ बजे काठमाडौं महानगर र मध्यपुर थिमिबीच पहिलो सेमिफाइनल हुनेछ । त्यस्तै यसैगरी दिउँसो साढे ३ बजे चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनलको खेल हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Post Comments