News गोलको वर्षा गर्दै इन्टर क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । फराकिलो जित निकाल्दै इन्टर स्पोर्टस क्लब यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा इन्टरले लोकल फुटबल क्लबमाथि १३–० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा इन्टरका लागि आवेश शाही एक्लैले सात गोल गरे । त्यस्तै कप्तान अनुज गैरे, निशान्त क्षेत्री र मनिष तामाङले समान २–२ गोल गरे ।

खेलमा एक्लै सात गोल गरेका इन्टरका आवेश शाही म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत जेठ २ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल हिमाल युथ क्लब र फर्साटिकर युथ क्लब बीच हुने खेल संयोजक अमर थापा मगरले जानकारी दिए ।

इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

Post Comments