
अर्जुनधाराको नमूना खेलमैदानमा जारी झापा जिल्ला ए डिभिजन लिगमा बुधबार भएको खेलमा असन्तुष्टि जनाउँदै शनिश्चरे एफसीले उजुरी हालेको छ ।
समूह ‘ख’ अन्तर्गत काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र सैनिक युथ क्लबबीच अन्तिम खेल हिजो भएको थियो ।
दुवै टिम जित निकाल्दै समूह विजेता बन्ने होडमा थिए । काँकरभिट्टा पहिलो हाफमै १-० गोलले पछि परेको थियो । सैनिकको जित निस्किँदै गर्दा शनिश्चरेका समर्थक उत्साहित बन्दै गएका थिए । सैनिकले थोरै गोलअन्तरमा जित निकालेको खण्डमा शनिश्चरे समूह विजेता बन्ने पक्का थियो । तर, दोस्रो हाफमा नसोचेको परिणाम आयो । ६-० गोलअन्तरमा सैनिकले जित दर्ता गर्दै समूह विजेता बन्यो । साविक विजेता शनिश्चरेका समर्थक स्तब्ध बने । ‘हेड टु हेड’का आधारमा सैनिक समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्यो । शनिश्चरे र सैनिक समान ३-३ खेल खेलेर समान ६-६ अंक बटुलेका टोली हुन् । काँकरभिट्टाले २ खेलमै ६ अंक जाेडिसकेकाे थियाे । तेस्राे खेल गुमाएपछि गोल संख्याको आधारमा सैनिक समूह विजेता बनेको छ । तर, काँकरभिट्टाले सैनिकलाई निस्फिक्री गोल गर्न सघाउ पुराएको शनिश्चरेको आरोप छ ।
काँकरभिट्टाका अफिसियलहरुले खेलाडी बोलाएर गोल छाड्न निर्देशन दिएको शनिश्चरेका अफिसियलहरुको भनाइ छ । खेलाडी घाइते नभइ गोलरक्षक, रक्षकहरुलाई परिवर्तन गराएको उनीहरुको आरोप छ । सैनिकलाई समूह विजेता बन्न कम्तिमा ६ गोल गर्न जरुरी थियो । यदि ५ गाेलअन्तरमा सैनिकको जित निस्केको खण्डमा शनिश्चरे समूह विजेता बन्ने निश्चित थियो । पहिलो हाफमै काँकरभिट्टा पछि परेपछि सैनिक हाबी भएको थियो । काँकरभिट्टाले जित वा बराबरीको नतिजा निकालेको भए सोझै समूह विजेता बन्ने थियो । काँकरभिट्टा आफू समूह विजेता बन्न नसक्ने भएपछि शनिश्चरेलाई पनि शीर्ष स्थानमा उक्लिन रोक्नका लागि सैनिकलाई निर्विरोध बनाउन जिताएको शनिश्चरेको आरोप छ ।
शनिश्चरेको अफिसियल फेसबुक पेजमा भनिएको छ, ‘शनिश्चरे फुटबल क्लबलाई लिगको समूहमा गोलअन्तरले शीर्षमा आउन नदिन सैनिक युथ क्लबलाई निर्विरोध तथा आफ्नै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडीहरूले गोल खाने कार्य र अफिसियलहरुले गोल खान खुलेआम नियमविपरीत आदेश दिएको हो।’ अगाडि भनिएको छ, ‘झापा जिल्लाको प्रसिद्ध नाम कमाएको क्लब काँकडभिटाबाट यस्तो गतिविधिले निराशाजनक तुल्याएको छ। यस्तो कार्यले गर्दा उक्त लिगको अङ्क तालिकामा मात्र नभई खेलको स्तर कमजोर, खेलाडीलाई गलत सन्देश, दर्शकलाई निराशा र राष्ट्रको खेल क्षेत्रमा पनि असर पुर्याउने गर्छ। जिल्लाको सानो लिगमा यस्तो गतिविधि रोक्न नसके राष्ट्रको लिगमा कसरी रोक्न सकिन्छ ?’
सैनिकले ६-० गोलले काँकरभिट्टालाई पराजित गरेसँगै सैनिक फाइनलमा पुगेको छ । समान खेल खेलेर समान अंक जाेडेकाे शनिश्चरेकाे गाेल गरेकाे संख्या ९ रहेकाे छ भने सैनिककाे ११ गाेल रहेकाे छ । खेल सकिएलगत्तै शनिश्चरेले लिगको नियमनकारी निकाय झापा जिल्ला फुटबल संघलाई खेल भावना र नियमविपरीत काँकरभिट्टाका अफिसियलबाट गरिएको गतिविधिविरुद्ध उजुरी हालेको छ ।
क्लबका सचिव हरि गुरुङले गरेको उजुरीमा सैनिक र काँकरभिट्टा बीचको खेल मिलेमतोमा खेलेको हुँदा आवश्यक छानविन गरी कारबाही गर्न उल्लेख छ । शनिश्चरेले काँकरभिट्टा क्लब र अफिसियललाई कारबाही गर्न उजुरीमा अनुरोध गरेको छ । यसैबीच, शनिश्चरे एफसीको उजुरी परेको संघले जनाएको छ । उजुरीमाथि छलफल गरी केही दिनमा निर्णय लिइने संघका महासचिव शेरबहादुर बस्नेतले बताए ।
क्लबमाथि उजुरी परेकाे, शनिश्चरे एफसीले लगाएकाे आराेपका विषयमा समाचार तयार पारूञ्जेलसम्म काँकरभिट्टाले कुनै प्रतिक्रिया जनाएकाे छैन । शनिश्चरेले आफ्नो पेजको अन्त्यमा भनेको छ, ‘अन्य क्लब तथा खलाडीबाट यस्तो नियमविपरीत गतिविधि हुन नदिन उक्त क्लब,अफिसिल तथा खेलाडीलाई निलम्बन गर्दै कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’