
राजारानी । बिहीबारदेखि शुरु भएको ११औं गोर्खा रारा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा डाँगीहाट युथ क्लब, मोरङ्गले उत्कृष्ट शुरुवात गरेको छ । उद्घाटन खेलमा डाँगीहाटले डाँडाबजार फुटबल क्लब, धनकुटालाई ५–१ ले हरायो ।
डाँगीहाटका लागि असिम राईले दुई गोल गरे । त्यस्तै मार्टिन, भुवन बस्नेत र सुशिल राईले थप एक–एक गोल गरे । उता पराजित डाडाबजारका लागि ओस्कारले एक मात्र सान्त्वना गोल फर्काए ।
खेलमा डाँगीहाटका असिम राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे । यो जितसँगै डाँगीहाट सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत जेठ ११ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल बिर्तामोड युनाइटेड क्लब, झापा र रियल स्टार युथ क्लब, हेटौडा बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी चौबिसे गाउँपालिका, राजारानीका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए ।
रारा फुटबल क्लब, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।