काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ दशौं चरणको खेलहरु जारी रहँदा उत्कृष्ट लयमा देखिएको बागमती युवा क्लबले दश खेलाडीमा खुम्चिएर पनि महत्वपूर्ण जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा बागमतीले समाज कल्याण खेलकुद केन्द्रलाई २–१ ले हरायो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि राज भुषाल र सिर्जनराज गौतमले गोल गरे । पराजित समाज कल्याणका लागि रोशन क्षेत्रीले गोल फर्काएका थिए ।
खेलको दोस्रो हाफमा बागमतीका आयुष रानाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए तापनि बागमतीको जितमा त्यसले असर पारेन । यो जितपछि १० खेलबाट २३ अंक जोडेको बागमती शिर्ष स्थानमा उक्लेको छ । उता पराजित समाज कल्याण १६ अंकका साथ चौथो स्थानमा छ ।
त्यस्तै मंगलबार नै सम्पन्न अर्को खेलमा महाबिर क्लब र सामाजिक युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । महाबिरका लागि अमन राजवाहकले गोल गरे भने सामाजिकका लागि सुवास गोलेले गोल गरेका थिए ।
यो नतिजापछि १० खेलबाट १३ अंक जोडेको सामाजिक लिगतालिकाको आठौं स्थानमा छ । उता महाबिर भने १० अंकका साथ लिगतालिकाको ११औं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)