News नवलपरासी गोल्डकप शुरु, बिएफसीको विजयी शुरुवात
सुरज राना मगर

सुनवल । राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, नवलपरासीको आयोजनामा बिहीबारदेखि शुरु भएको जिल्ला कै बहुप्रतिक्षित नवलपरासी गोल्डकपमा हानामी बिएफसी, चितवनले विजयी शुरुवात गरेको छ ।

शहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा बिएफसीले नवलपरासी–११ लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । बिएफसीको जितमा खेलको २८औं मिनटमा समिराज थोकरले पहिलो गोल गरे भने ४१औं मिनटमा सुशिल राईले दोस्रो गोल गरे । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो ।

उता दोस्रो हाफको ५३औं मिनटमा बल क्लियर गर्न खोज्दा बिएफसीका बिज्जु ठकुरीले आत्मघाती गोल गर्न पुगेका थिए । यद्यपि त्यसपछिको खेलमा फर्कने नवलपरासीको प्रयास भने सफल हुन सकेन ।

खेलमा बिएफसीका सुशिल राई म्यान अफ द म्याच घोषित भए । यो जितसँगै बिएफसी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत जेठ १८ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक राईजिङ स्टार एफसी, भूमही र पाल्पा–११, पाल्पा बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जयसवालले गरेका थिए । आयोजक प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीको संञ्चालनमा भएको उद्घाटन कार्यक्रममा आयोजक प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनी, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) लगायतको उपस्थिति रहेको थियो ।

आउँदो जेठ २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धर्मेन्द्र अग्रहरीले बताए ।

Post Comments