News रारालाई दशौं भलुवा गोल्डकपको उपाधि
गोलनेपाल

दुहबी । साँघुरो अन्तरको जित निकाल्दै रारा फुटबल क्लब, धनकुटाले यहाँ सम्पन्न दशौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा राराले सलहेश युवा क्लब, सिराहालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

भलुवा खेलमैदानमा भएको फाइनल भिडन्तमा राराका लागि साइमण्ड लिम्बुले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लिम्बु नै फाइनल खेलको प्लेयर अफ द म्याच पनि चुनिए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

विजेता बनेको राराले उपाधिसहित नगद ४ लाख हात पार्यो भने उपविजेता सलहेशले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

अन्य व्यक्तिगत विधातर्फ राराका प्रदिप भण्डारी उत्कृष्ट गोलरक्षक बन्दा सलहेशका कुलदिप कार्की उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डर पनि सलहेश कै मौसम सुब्बा बन्दा उत्कृष्ट प्रशिक्षक राराका रुपन चेम्जोङ चुनिए ।

उदीयमान खेलाडी आयोजक गोल्डेन स्टार युथ क्लब, सुनसरीका अमन थन्दार बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने सलहेशका आदित्य शाक्य र अर्माण्ड बिडुमले संयुक्त रुपमा हात पारे । दुवैले ७ हजार आपसमा बाँडे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने राराका देवेन्द्र तामाङ घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

गोल्डेन स्टार युथ क्लब, दुहबीको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजय कुमार गच्छदार लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments