News लेबनानमा खेल्ने नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा (नामावलीसहित)
गोलनेपाल

काठमाडौं । लेबनानमा आउँदो जुलाई १० तारीख (असार २६ गते) देखि शुरु हुने चार देशीय अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार लेबनान जाने २२ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् । टोलीमा गत फेब्रुअरीमा वाफ महिला च्याम्पियनसिप खेलेका सबैजसो खेलाडीहरु सामेल छन् ।

यस्तो छ फाइनल स्क्वाडः

गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर्सः अमृत जैशी, गीता राना, हिरा कुमारी भुजेल, बिमला बिक, निशा थोकर, पुजा राना, समिक्षा घिमिरे

मिडफिल्डर्सः रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सबिता राना मगर, दिपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, बिमला चौधरी

फरवार्डसः साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ

नेपालको पहिलो प्रतिद्वन्द्वी जोर्डन

चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रुपमा जोर्डनलाई पाएको छ । नेपालले १० जुलाई (असार २६ गते) का दिन जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । जुन खेल नेपाली समयअनुसार दिनको १ः४५ बजेदेखि शुरु हुनेछ ।

जोर्डन त्यही टोली हो, जोसँग नेपालले गत फेब्रुअरीमा साउदी अरेबियाको जेद्दाह शहरमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा हार बेहोरेको थियो । नेपाललाई अब त्यो हारको बदला लिने अवसर लेबनानमा हुनेछ ।

त्यस्तै नेपालले दोस्रो खेल जुलाई १३ (असार २९ गते) का दिन बंगलादेशसँग खेल्नेछ । जुन खेल नेपाली समयअनुसार दिनको १ः४५ बजेदेखि शुरु हुनेछ । त्यस्तै नेपालले अन्तिम खेल जुलाई १६ (साउन १ गते) का दिन आयोजक लेबनानसँग खेल्नेछ । जुन खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि शुरु हुनेछ ।

प्रतियोगिताका सबै खेलहरु लेबनानको त्रिपोली शहर स्थित राशिद करामी इन्टरनेशनल स्टेडियममा हुनेछन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली च्याम्पियन बन्नेछ ।

 
Post Comments