
काठमाडौं (एजेन्सी) । फ्रान्सको चर्चित, व्यवसायीक र पुरानो क्लब मध्ये एक एफसी गिरोन्डिन्स बोर्डेक्सले आफ्नो व्यवसायीक क्लबको मान्यता त्याग्ने घोषणा गरेको छ । सन् १८८१ मा स्थापित भए तापनि व्यवसायिक फुटबल क्लबका रुपमा सन् १९२० बाट सक्रिय शतकौं पुरानो बोर्डेक्सले फ्रान्स फुटबल फेडरेशनलाई पनि सो कुराको जानकारी गराएको छ ।
अन्तिमपटक गत सिजन फ्रान्सको दोस्रो डिभिजन लिगको लिग टु खेलेको बोर्डेक्सले आफ्नो क्लब इतिहासमा फ्रान्सको शिर्ष फुटबल लिग ६ पटक जितेको थियो । त्यस्तै क्लबले अन्तिमपटक सन् २००८–०९ को सिजनमा लिग वानको उपाधि जितेको थियो ।
त्यसपछि लामो समय फ्रान्सको शिर्ष लिग खेलेको बोर्डेक्स सन् २०२१–२२ को सिजनमा रेलिगेशन परे यता खराब लयमा थियो । क्लब गत सिजनको लिग टु मा १२औं स्थानमा रहेर लिगको समापन गरेको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बोर्डेक्सले आफ्ना खेलाडीहरुसँगको सम्झौता पनि रद्द गर्ते निर्णय गरेको छ । साथै क्लबको अभ्यास मैदान लगायतका भौतिक पुर्वाधारहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
केही अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार क्लबले आफ्नो आर्थिक अवस्थामा अझै केही सुधार गर्न यो निर्णय लिएको समेत बताइएको छ ।